नगरपालिकाको संक्षिप्त परिचय

ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जंगल सामान्य मात्र रहेको पाईन्छ । नेपाल सरकारले २०७१ साल बैसाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन: २०७३ को राज्य पुर्नसंरचना पश्चात पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरुमा बिभाजन गरिएको छ । कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केरावारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका, र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउपालिका र दक्षिण तर्फ रंगेली नगरपालिका रहेका छन् ।

 

मोरङको बेलवारी लगायतको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी नदीदेखि पूर्वको मकवानपुर लोहांगसेनले भागीमा पाएको हुनाले यो भेग पनि मकवानपुरभित्र प¥यो । यसैगरी अझ पछि भने हरिहरसेनका नाति विधाता इनद्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा बेलबारी लगायतको स्थान बिजयपुरको अभिन्न अंग बन्न पुग्यो । सेनकाल भन्दा अघिनै बेलबारीको कसेनीमा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि कसेनीमा रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले जान्ने गरिन्छ । कालान्तरमा धनपालगढीको पतन भयो र धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । यसै क्रममा वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिएपछि भने बेलवारी पनि बृहत्तर नेपाभित्र पर्न पुग्यो । त्यसपछि बेलबारी भेग मोरङको एउटा भागका रूपमा रहन पुग्यो ।

वि.सं. २०६८ को कुल जनसंख्या ६५ हजार ९ सय ७४ रहेकोमा हाल वि.सं. २०७४ को अनुमानित कुल ७५ हजार ५ सय ९५ जना पुगेका छन् । वार्षिक जनसख्या बृद्धिदर २ दशमलव ५४ रहेको यो नगरमा ‍आदीवासी जनजातीको ५७.१३ प्रतिशत, ब्राम्हण क्षेत्री ३२.२३ प्रतिशत, दलित ७.८१ र मधेशी पिछडागर्ग २.८३ प्रतिशत रहेका छन् ।साक्षरताको हिसाबले निकै अघि रहेको यो नगरको कुल साक्षरता ७४.१७ प्रतिशत रहेकोमा महिला ६६.६६ प्रतिशत र पूरुष ८३.२२ प्रतिशत रहेको     छ ।विविध कला संस्कृति र धर्मालम्बीहरुको बसोबास रहेको यो नगरक्षेत्रमा ऐतिहासिक महत्वको धनपालगढी, प्राकृतिक र पर्यावरणीय रुपमा मनोरम स्थल बेतना सिमसार क्षेत्र, झलझली सिमसार, पेट्रोल खानी, रमितेडाँडा लगायत अन्य सिमसार क्षेत्रको प्रचुर संभावना बोकेको छ जसबाट पर्यटन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने देखिन्छ ।

 भौगोलिक अवस्थिति ः
    नगरपालिकाको स्थापना        ः–     २०७१ साल बैसाख द्२५ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार
    अवस्थिति :      आक्षांश        ः–    आक्षांस २६ं ३६’ १६” देखि २६ं ४३’ ३३’’  उत्तर सम्म ।
            देशान्तर     ः–    देशान्तर २७ं ३२’ २६” देखि ७८ं २८’ ४२” पूर्वसम्म ।
            क्षेत्रफल        ः–    १३२.७९ ब.कि.मी.     
    उचाई समुन्द्री सतहदेखि        ः–    ११२ देखि ११६ मिटर सम्म 
    सिमाना    ः    पूर्व           ः    लेटाङ नगरपालिका, कानेपोखरी गा. पा.
                        पश्चिम        ः    सुन्दरहरैंचा न.पा., ग्रामथान गा.पा.,
                        उत्तर        ः    लेटाङ न.पा., केराबारी गा.पा.
                     दक्षिण        ः    रंगेली न.पा.
            हावापानी    ः    उष्ण मनसुनी

                                                                                            धन्यबाद